कपिलवस्तु ।
प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै कपिलवस्तुमा एक युवाले आफ्नी प्रेमिकासहित दुई जनाको हत्या गरेका छन ।रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको प्रहरीले जनाएको छ । आज (बिहीबार) बिहान नौ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभएको छ । मोहन र अन्जनीबीच केही समययता प्रेम सम्बन्ध रहेपनि मोहनले गरेको विवाहको प्रस्ताव अन्जनीले अस्वीकार गरेकी प्रहरीले बताएको छ । अहिले चक्कु प्रहार गर्ने मोहनलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिनुभएको छ ।