दाङ ।
लुम्बिनी प्रदेशले दुई वटा मन्त्रालयको नाम परिवर्तन गरेको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेका अनुसार आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशोधन गर्ने निर्णय पनि गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई सय शय्याको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएनएम) को स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।