देवदह । देवदह नगरपालिका वडा नं २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीले सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरप्रमुख ध्रुव प्रसाद खरेलले नगरपालिकाले देवदहका आम नागरिकलाई स्वास्थ्य सम्बन्धि सेवा पुर्याउने दायित्व तथा लक्ष्य लिएको बताउनु भयो।
उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका खरेलले विगतको तुलनामा यस बर्ष नगर अस्पतालमा स्वास्थ्य विमाका औषधीहरुको अभाव हुन नदिने दावी गर्नु भयो । वहाँले देवदहका बासिन्दाहरु स्वास्थ्य विमामा जोडिन समेत आग्रह गर्नु भयो । सोही कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले प्रतिवेदन पेश गर्दै स्वास्थ्य चौकीबाट आर्थिक बर्ष ८०/८१ मा ७ हजार ९ सय ८९ जनालाई सेवा दिईएको जानकारी दिनु भयो । रेग्मीका अनुसार स्वास्थ्य चौकीबाट खोप सेवा, क्षयरोग तथा कुष्ठरोग पहिचान निदान र उपचार, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, २४ घण्टा प्रसुति सेवा लगायत सेवा दिईरहेको बताउनु भयो ।
सिनियर अनमी पार्वती अर्यालको संचालन तथा दिपक न्यौपानेको सहजीकरणमा भएको कार्यक्रममा देवदह नगरपालिकाकी नर्सिङ्ग अधिकृत माया पुन, सेतो गुँरास वाल विकास केन्द्रका सन्तराम पासी, महिला स्वास्थ्य स्वयम सेविका विद्या देवी भुर्तेल, सेवाग्राही कविता शर्मा लगायतले सुझाव राख्नु भएको थियो ।