देवदह । देवदह-७ मदनग्राम भृकुटी पथमा बस्ने लिलावती क्षेत्रीको वर्षाका कारण भत्किएको घर पुनर्निर्माण गरि हस्तान्तरण गरिएको छ।गत असार ११ गते आएको वर्षाको कारणले भत्किएको घरलाई निर्माण गरि बिहिबार घर हस्तान्तरण गरिएको हो।
युवाहरूको सक्रियता, देश विदेशबाट प्राप्त सहयोग तथा स्थानीयको नगद तथा श्रमदानमा निर्माण सम्पन्न भएको घर नगर प्रमुख ध्रुव प्रसाद खरेलले क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो।
दुई महिनाको अवधीमा निर्माण गरिएको घर सम्पन्न गर्नका लागी २ लाख ७९ हजार बढी खर्च लागेको घर निर्माणका अभियान्ता एवं युवा व्यवसायी चन्द्रकान्त खरेल ध्रुवले जानकारी दिनुभयो। घर निर्माणका लागि सहयोग संकलन भैरहेको र ६३ हजार अपुग रहेको खरेलले बताउनुभयो ।
घर हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले विपन्न नागरिकहरुको लागि पालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । नि: शुल्क स्वास्थ्य बिमादेखि लिएर दैनिक रुपमा आर्थिक सहयोगहरु पालिकाले गर्दै आएको प्रमुख खरेलको भनाई थियो।
नगर प्रमुख खरेलले घर निर्माणका लागि अपुग रहेको रकम पालिकाले प्रक्रिया पुर्याएर व्यवस्था गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दी चरण भट्टराई, वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, समाजसेवी व्याक्तित्त्व प्रकाश अर्याल, यम राना, तिल बिक्रम बुढाथोकी, मोतिलाल ढकाल, लक्षमण उपाध्याय, स्थानीयहरुको सहभागिता रहेको थियो।
नयाँ घर पाएपछि क्षेत्रीले खुशी व्यक्त गर्दै घर निर्माण अभियानमा जोडिएर सहयोग पुर्याउने सम्पूर्णलाई आभार प्रकट गर्नुभएको थियो। घर हस्तान्तरण कार्यक्रम युवा अभियान्ता अर्जुन गैरेको संचालन र चन्द्र्कान्त खरेलले धन्यवाद ज्ञापन गर्दै सम्पन्न भएको थियो।