रुपन्देही । रुपन्देहीको देवदहमा जारी प्रथम बुद्ध मावली क्रिकेट कप २०८१ को उपाधी काठमाडौं क्यापिटल्सले जितेको छ । बुद्ध समुदाय युवा क्लबको आयोजनामा देवदह मा.वि.को खेलमैदानमा भएको फाईनल खेलमा राईजिङ स्टारलाई ४ विकेटले पराजित गर्दै काठमाडौं क्यापिटल्सले उपाधि जितेको हो। असोज १७ गते बाट सुरु भएको यस प्रतियोगितामा २३ टिमहरुको सहभागिता रहेकाे थियाे ।
शनिबार सम्पन्न फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राईजिङ स्टारले १९ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १०२ रनको जोडेको थियो । टिमका लागि रमेश बुढामगरले ३१, सागर गैरेले २७ र सुरज सिङले १० रन बनाए । काठमाडौं क्यापिटल्सका आशिष पाण्डेले ४ ओभरमा ५ विकेट, जितेन्दर सहानीले ३, कमल जैसी र रहेमन्त थापाले १-१ बिकेट लिए ।
१०३ रनको लक्ष पच्छ्याएको काठमाडौं क्यापिटल्सले १९.५ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो । टिमका लागि प्रकाश भण्डारीले अबिजित ६१ रन, राजन शहानीले ११ रन बनाए । राईजिङ स्टारका सुरज सिङले २ विकेट, सन्देश थापा, अभिषेक गौतम र बादल पर्तेलले १-१ बिकेट लिए । उक्त खेलको म्यान अफ दि म्याच क्यापिटल्सका प्रकाश भण्डारी चुनिए ।
उपाधि बिजेता काठमाडौं क्यापिटल्सले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उप विजेता बनेको राईजिङ स्टारले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना, काठमाडौं क्यापिटल्सका टिम व्यवस्थापक नवीन ढकाल लगायतले पुरस्कार प्रदान गरेका थिए।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै, प्रमुख अतिथि नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहका युवाहरुले पनि खेल क्षेत्रमै आफ्नो सुनौलो भविस्य देख्न सक्ने वातावरण तयार गर्ने गरि कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। खेलाडी तथा खेलप्रेमी सम्पूर्णलाई सम्बोधन गर्दै खेल जगतबाटै पनि युवाहरुलाई एकीकृत गर्न सकिने साथै स्वस्थ युवा र स्वस्थ समाज तयार पार्न सकिने र यसलाई निरन्तरता दिनु आवश्यक र हामी सबैको दायित्व समेत रहेको बताउनुभयो।
साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडी संगै उत्कृष्ट व्याटस्म्यान काठमाडौं क्यापिटल्सका प्रकाश भण्डारी घोषित भएका थिए । उनले समग्र प्रतियोगितामा १ सय ५८ रन सहित ८ विकेट लिएका थिए । त्यस्तै प्रतियोगिताका उत्कृष्ट बलर काठमाडौं क्यापिटल्सकै आशिष पाण्डेले घोषित भएका थिए । उनले प्रतियोगिता भरीमा १६ विकेट लिएका थिए ।