देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ८ ले अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१ आयोजन गर्ने भएको छ । देवदहका विद्यार्थीहरुलाई लक्षित गर्दै क्रिकेटको माध्यमबाट वडा, समाज, क्षेत्र, जिल्ला गर्दै राष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादन गरी देवदहको खेल क्षेत्रालाई थप उचाईमा पुऱ्याउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेको हो ।
देवदह नगरपालिका वडा नं. ८ ले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २५ देखि ३० गतेसम्म हुन लागेको जानकारी दिएको हो । सो अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेयले देवदह ८ ले क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेको र सबैको सहयोग रहनेमा आशावादी रहेको बताउनुभयो । यस प्रतियोगितामा नगर भित्र रहेका सामुदायिक र संस्थागत गरी अहिले सम्म १२ वटा टिमले टिम दर्ता गरीसकेको जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न १ लाख रुपैयाँको अनुमानित खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा देवदह मा.वि.को खेल मैदानमा खेल खेलाइने खेल संयोजक रबि रेग्मीले बताउनुभयो। प्रतियोगितामा टिम दर्ता शुल्क भने १ हजार १ रुपैयाँ राखिएको छ जुन खेललाई मर्यादित र सहभागी टिमलाई खेल अनुशासनमा बाँध्नको लागि गरिएको उहाले बताउनुभयो । संयोजक रबि रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १२ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै म्यान अफ द सिरिजले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ८ को वडा सदस्य तथा न्यायीक समिती सदस्य कुन्ता खाम्चा मगर, वडा सदस्य हरी पौडेल, वडा सदस्य झबिन्द्र कुमारी बि.क, देवदह नगरपालिकाका एम.आई.एस. अपरेटर सागर भट्टराई, देवदह क्रिकेट युनिटका प्रकाश भण्डारी, संकेत भट्टराई, क्रिकेट प्रेमीहरुको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रम खेल संयोजक रबि रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।
प्रतियोगितामा देवदह क्रिकेट युनिट र बुद्ध मावली क्रिकेट क्लब सह आयोजकको रुपमा रहेको छ । भोलीको उद्घाटन खेल भने ८:३० बजे महामाया भवानी मा.वि र खड्ग मा.वि बिच हुने आयोजकले जनाएको छ ।