रुपन्देहीको देवदह–७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा अन्तरनिहित काव्य–कलाको विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। सगरमाथा साहित्य क्लबको आयोजनामा र सगरमाथा बालक्लबको सक्रियतामा आयोजित उक्त प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
कक्षा ४ र ५ तहमा इप्शु पोखरेल प्रथम, जिया बानियाँ द्वितीय, निजु श्रेष्ठ तृतीय तथा माल्भीका पौडेल सान्त्वना स्थानमा रहे। कक्षा ६ र ७ तहमा वर्षा भट्टराई प्रथम, सायना रोका द्वितीय, सिजन न्यौपाने तृतीय तथा जोसना तामाङ सान्त्वना भए। कक्षा ८, ९ र १० तहमा पुस्कल पाण्डे प्रथम, निकिता भुषाल द्वितीय, सुबोध पाठक तृतीय तथा स्वयम नेपाली सान्त्वना बने।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले यस्तो गतिविधिले विद्यार्थीको रचनात्मक क्षमता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो अतिरिक्त कार्यक्रम संयोजक दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न प्रतियोगितामा सह–प्राचार्य प्रदीप अधिकारी र शिक्षक मिनु घिमिरे निर्णायक रहनुभएको थियो।




