देवदह । नेपाल ब्यूटी प्याराडाइसको आयोजनामा र स्वेच्छा मेकओभरको सह–आयोजनामा सम्पन्न ‘तीज क्वीन देवदह–२०८२’ को तेस्रो संस्करणमा सुरक्षा आत्रेय विजेता बनेकी छिन्।
मंगलबार साँझ होटल सनलाइटमा भव्य रुपमा सम्पन्न प्रतियोगितामा आत्रेयले पहिलो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँसहित ‘तीज क्वीन २०८२’ को ताज पहिरिएकी हुन्। सो प्रतियोगितामा स्वस्तिका खड्का फस्ट रनरअप बन्दै ७ हजार रुपैयाँ प्राप्त गरिन् भने कामना गिरी सेकेन्ड रनरअप हुँदै ५ हजार रुपैयाँसहित सम्मानित भइन्।
प्रतियोगितामा विधागत पुरस्कारतर्फ बेस्ट वाल्क उर्मिला श्रेष्ठ, मोष्ट फ्रेन्डली चन्द्र गुरुङ, मोष्ट डिसिप्लिन निशा क्षेत्री, मोष्ट कनफिडेन्ट स्वस्तिका खड्का, मोष्ट ट्यालेन्ट आशा अधिकारी, मोष्ट फोटोेजेनिक उर्मिला श्रेष्ठ, भ्युअर्स च्वाइस चन्द्र गुरुङ र बेस्ट ड्रेस अवार्ड राधा चापागाईंले प्राप्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाको उपप्रमुख विद्धा लक्ष्मी गुरुङले तीज क्वीन देवदहले महिला दिदीबहिनीहरुको प्रतिभा, आत्मविश्वास र संस्कृतिको पहिचानलाई प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो। तीज केवल रमाइलो गर्ने पर्व मात्र नभई हाम्रो संस्कृतिको जरा भएको उल्लेख गर्दै यसले स्थानीय महिलामा आत्मविश्वास थप्नुका साथै देवदहलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याएको पनि बताउनुभयो।
उपप्रमुख गुरुङले हाम्रो समाजमा महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने परम्परा अझै पनि विद्यमान रहेको तर संविधानकै कारण आज स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित भएको बताउनुभयो। संवैधानिक प्रावधान नभएको भए महिला नेतृत्व तहमा पुग्ने सम्भावना न्यून हुने भन्दै, यस्ता प्रतियोगिताले महिलाको लुकेको प्रतिभा उजागर गर्नका साथै नेतृत्व, व्यक्तित्व विकास, ड्रेसअप र आत्मविश्वासपूर्वक सार्वजनिक रूपमा बोल्न सक्ने क्षमता वृद्धि गराउने धारणा राख्नुभयो। साथै, उहाँले जीवन आफैंमा संघर्ष र सिकाइ हुने भएकाले महिलाले आफ्नो कला–प्रतिभा बाहिर ल्याउन नहिच्किचाउनुपर्नेमा जोड दिनुभयो।
सोही अवसरमा विभिन्न संघ–संस्थामा सक्रिय महिला नेतृत्वकर्ताहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेमा साना किसान सहकारी अध्यक्ष टीका न्यौपाने, जनप्रिय सामुदायिक वन अध्यक्ष रुका सापकोटा, उज्यालो लाल्टिन प्रतिष्ठान अध्यक्ष समज्ञा अधिकारी, यशोधरा चिल्ड्रेन पार्क अध्यक्ष सम्झना दुबे, लायन्स क्लब अफ देवदह अध्यक्ष सृजना ओली, सहकारी व्यवस्थापक सरला सुवेदी, सिटिजन लाइफ ईन्सुरेन्स प्रमुख विनिता श्रीस, सिद्धार्थ ईन्सुरेन्स प्रमुख निशा गुरुङ र केरवानी मा.वि.का लेखापाल प्रावती पाण्डे रहेकी छन्।
प्रतिभागीहरूलाई कोरियोग्राफर सृष्टि शाक्यले प्रशिक्षण दिनुभएको थियो। यसपटकको प्रतियोगितामा ८ जना युवतीहरूले प्रतिस्पर्धा गरेका थिए। निर्णायकको भूमिकामा चिन्ता परियार, दीपा पाठक, उकेश ज्ञवाली र मुना राना रहनुभएको थियो।
प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा ब्युटी हव, सहकार्यमा ओसिएफ नेपाल र सह–आयोजकको रूपमा स्वेच्छा मेकओभर रहेका थिए। कार्यक्रम नेपाल ब्यूटी प्याराडाइसकी अध्यक्ष अन्जु श्रेष्ठको अध्यक्षता, तीज क्वीन देवदहकी पहिलो विजेता कमला अर्यालको स्वागत तथा विशाल आले मगरको सञ्चालनमा सम्पन्न भएको थियो।




