देवदह । रुपन्देहीको देवदहमा जारी देवदह प्रिमियर लिग (डिपीएल) सिजन २ मा पाकडी प्यान्थर्स फाइनल प्रवेश गरेको छ । बुधबार भएको क्वालीफायर खेलमा खैरेनी ग्य्लाडिएटर्सलाई ४५ रनले पराजित गर्दै पाकडी प्यान्थर्स फाइनल प्रवेश गरेको हो । पाकडी प्यान्थर्स सिजन १ को पनि विजेता टिम हो।
देवदह ७ स्थित देवदह क्रिकेट युनिटको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकडी प्यान्थर्सले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन बनायो। टिमका लागि बिपर्शन केसीले १५ बलमा ३३ रन नटआउट, रोशन गौतमले २० बलमा २९ रन, प्रकाश भण्डारीले २१ बलमा २३ रन र निश्चल ज्ञवालीले १७ बलमा १७ रन जोडे। बलिङ तर्फबाट खैरेनी ग्य्लाडिएटर्सको लागि प्रेम भुर्तेलले र अनिल यादवले २-२ विकेट लिए ।
विशाल लक्ष्य सहित जवाफी ब्याटिङ गरेको खैरेनी ग्य्लाडिएटर्सले १३ दशमलव १ ओभरमा अल आउट हुदै ९३ रनमा सिमित भयो। टिमका लागी महेन्द्र बानियाले १६ बलमा ३२ रन, राजन तिवारीले २९ बलमा २२ रन, महेश मल्लाहाले २५ बलमा १९ रन जोडे । अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा पाकडी प्यान्थर्सका रोशन गौतमले ४ विकेट, रोहित कुवरले ३ विकेट, प्रकाश भण्डारी, बैजनाथ यादव र निश्चल ज्ञवालीले १-१ विकेट लिए । उक्त खेलमा उत्कृष्ट पर्दशन गर्दै पाकडी प्यान्थर्सका रोशन गौतलम प्लेयर अफ द म्याच घोषित भए। उनले २० बलमा २९रन र ३ दशमलव १ ओभरमा १७ रन दिदै ४ विकेट लिएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।




