गुल्मी — कालिगण्डकी गाउँपालिका–४, पुर्तिघाट बजारमा यस वर्ष पनि भगवान श्री राधाकृष्णको परम्परागत पूजा आराधना र रथयात्रा आयोजना गरिने भएको छ। श्री श्री राधाकृष्ण पूजा समितिका अनुसार कार्तिक १६ गते रथयात्रा तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने तयारी अन्तिम चरणमा पुगेको छ।
स्वेक्षा श्रेष्ठका अनुसार पुर्तिघाट बजारमा हरेक वर्ष द्वादशी मेलाको अवसरमा राधाकृष्णको रथयात्रा आयोजना हुँदै आएको छ। यो परम्परा करिब १०० वर्षअघि सुरु भएको मानिन्छ।
वि.स. २००५ सालमा नारायण प्रसाद श्रेष्ठले राधाकृष्ण मन्दिरको नाममा रथ चढाएपछि, पुर्तिघाटका स्थानीय बासिन्दा तथा नेवा सुब्बा खल गुठीले प्रत्येक वर्ष भक्तिभावका साथ पूजा–आराधना र रथयात्रा गर्दै आएका छन्।
यस वर्ष पनि भक्तजनहरूको सहज सहभागिता सुनिश्चित गर्न तयारी पूरा गरिएको स्वेक्षा श्रेष्ठले बताइन्। कार्यक्रममा फूलपाती, टिका ग्रहण, धार्मिक गीत–सङ्गीत, रथ परिक्रमा लगायतका आकर्षक गतिविधिहरू रहनेछन्। यस वर्षको पूजा सञ्चालक सन्तोष श्रेष्ठ रहेका छन्।
रथयात्रा तथा पूजामा स्थानीय समुदाय, समाजसेवी, गुठीका सदस्य र श्रद्धालु भक्तजनहरूको सहभागिता रहनेछ। पूजा समितिका सदस्यहरूमा शिवकुमार श्रेष्ठ, श्रीचन्द्र श्रेष्ठ, लालकुमार श्रेष्ठ र रामप्रसाद श्रेष्ठ सक्रिय रूपमा संलग्न छन्।




