देवदह बुद्ध पब्लिक इ.बो. स्कुलमा विद्यालयको वार्षिक क्यालेन्डरअनुसार विभिन्न अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएका छन्। कक्षा ६ र ७ का विद्यार्थीबीच “युवाहरू देशका भविष्य हुन्” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो भने कक्षा ८ र ९ तर्फ “जेन्जी आन्दोलन र अबका चुनौतीहरू” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
कक्षा ६ र ७ तर्फको प्रतियोगितामा कक्षा ७ की छात्रा परिशा शाही प्रथम भइन्। कक्षा ६ की छात्राहरु सुवानी अधिकारी र प्रिन्सा पन्थीले संयुक्त रूपमा दोस्रो स्थान हासिल गरे। सोही समूहमा कक्षा ७ ‘गामा’ का छात्र प्रान्जक बेलबासे तृतीय घोषित भए।
यसैगरी, कक्षा ८ र ९ तर्फको वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ की शोफिया न्यौपाने प्रथम, सम्राट भण्डारी द्वितीय, स्पर्श भण्डारी तृतीय तथा सुप्रिया बि.के.ले सान्त्वना स्थान प्राप्त गरे।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले यस्ता समसामयिक विषयमा आधारित प्रतियोगिताले विद्यार्थीहरूमा विश्लेषण, अभिव्यक्ति, आत्मविश्वास तथा व्यवस्थित रूपमा बोल्ने कलाको विकास हुने विश्वास व्यक्त गर्नुभयो। विद्यार्थीहरूले सुनेका, देखेका र भोगेका कुरालाई स्पष्ट रूपमा प्रस्तुत गर्न सक्नु नै प्रभावकारी वक्तृत्वकला विकासको आधार भएको उहाँले बताउनुभयो।
कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ, कक्षा २ इन्चार्ज अनन्तराम भण्डारी, मा.वि. इन्चार्ज मुक्ति विश्वकर्मा, बलराम ज्ञवाली, प्रेम बहादुर खड्का, राजन श्रेष्ठ, सिवेन शाह, रोशन चापागाईं लगायतको उपस्थिति रहेको थियो।
यसैबीच, बिहानैको सत्रतर्फ कक्षा ११ र १२ का विद्यार्थीबीच टेबल टेनिस छनोट प्रतियोगिता जारी रहेको र आइतबार फाइनल खेल सम्पन्न हुने विद्यालयले जनाएको छ।
कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको अध्यक्ष्ता र कक्षा ९ ‘अल्फा’ की छात्रा अनुष्का भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।




