नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। फाल्गुण २१ को निर्वाचनलाई लक्षित गर्दै पार्टीले घरदैलो, मतदाता भेटघाट, वडा भेला, तथा प्रचार सम्पर्क कार्यालय स्थापना कार्यक्रमलाई व्यापक रूपमा अघि बढाएको छ। क्षेत्र नम्बर १ का सबै ३३ वटै वडामा अभियान सञ्चालन भइरहेको एमालेले जनाएको छ।
चुनावी कार्यक्रमहरूमा सहभागी हुँदै नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेले जनताबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको बताउनुभएको छ। जनसहभागिता र जनलहरलाई हेर्दा आफ्नो जित सुनिश्चित हुँदै गएको उहाँले दाबी गर्नु भएको छ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार न्यौपानेले एमाले सरकारका पालामा भएका विकास निर्माणका काम र पूर्व सांसद छबिलाल विश्वकर्माले क्षेत्रमा गरेको सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सम्बन्धी विकास योजनालाई मुख्य एजेन्डा बनाउँदै अभियान अघि बढाइरहनुभएको छ।
वडा भेला, भेटघाट तथा घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले आफ्ना समस्या र सुझाव राखेका छन् भने तिनलाई आगामी कार्यकालमा प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता उम्मेदवार न्यौपानेले व्यक्त गर्नुभएको छ। एमालेका अनुसार, क्षेत्र नम्बर १ मा पार्टीप्रति जनआकर्षण बढ्दो क्रममा रहेको छ।
नेकपा एमालेका स्थानीय नेताहरूका अनुसार, क्षेत्र नम्बर १ मा पार्टीप्रति जनआकर्षण बढ्दो क्रममा रहेको छ। उनीहरूका अनुसार, जनताको सकारात्मक प्रतिक्रिया र सक्रिय सहभागिताले चुनावी माहोल एमालेको पक्षमा गएको स्पष्ट देखिन्छ।
नेकपा एमालेले आगामी दिनमा पनि जनसम्पर्कका कार्यक्रमलाई थप सशक्त बनाउँदै अन्तिम समयसम्म मतदाताको घरदैलोमा पुग्ने रणनीति बनाएको छ। पार्टीले विकास, स्थायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर चुनावी अभियानलाई अगाडि बढाइरहेको जनाएको छ ।कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको छ।




