बुटवल ।
रुपन्देहीको देवदहमा लाग्न थालेको आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवकोे तयारी तिब्र पारिएको छ ।
देवदह उद्योग बाणिज्य संघको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवका लागि बालउद्यान, स्टल र सचिवालय निर्माणको कामलाई तिब्र पारिएको हो । मेलाका लागि कम्पाउण्ड घेर्ने काम, बालउद्यान निर्माण र सचिवालय निर्माणका काम अहिले भई रहेको छ भने स्टल निर्माणको काम पनि उत्तिकै भएको छ । मेला तथा महोत्सवमा दुई सय स्टल राख्ने गरि काम भई रहेको छ ।
महोत्सव संचालनका लागि आवश्यक पर्ने संरचना निर्माणको काम भई रहेको महोत्सव मुल आयोजक समितिका सहसंयोजक कृष्ण शाहीले जानकारी दिनुभयो। महोत्सवका लागि आवश्यक पर्ने सामग्रीहरु आई सकेको र अहिले मेलाको कम्पाउण्ड निर्माण, स्टल निर्माण र बालउद्यान निर्माणका काम तिब्र रुपमा अगाडि बढेको बताउनुभयो । त्यस्तै स्टल दर्ताको क्रम पनि तिब्र भएको संघले जनाएको छ । बुधबारसम्म एकसय पचाँस स्टलहरु दर्ता भएको स्टल दर्ता उपसमितिका संयोजक अजय भण्डारीले जानकारी दिनुभयो । उहाँले अन्य स्टल राख्ने गरि फोन र म्यासेज पनि आई रहेको बताउँदै अहिलेको महोत्सवमा दुई सय विभिन्न थरिका स्टलहरु राखिने जानकारी दिनुभयो ।
फागुन ८ गतेसम्म संचालन हुने मेलाको एक लाख दर्शकले अवलोकन गर्ने र १० करोडबढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान आर्थिक संयोजक सन्तोष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।