काठमाण्डौ ।
आज तराई मधेसमा धुमधामसँग होली मनाइँएको छ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली पर्व मनाउने परम्परा छ । होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ ।
मधेसमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ । हिन्दू परम्पराभित्रका फरक–फरक चलनअनुसार फरकफरक दिनका होलीमा मनाउने चलन छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।
शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ ।